• ON AIRटप अफ द पप
  • UP NEXTनेपाल खबर

राम्रोसँग माझौं दाँत

स्कुल जति ठूला, विद्यार्थीका दाँत त्यति फोहोर स्कुलहरूमा पहिले विद्यार्थीका दाँत, नङ आदि जाँच्ने परिपाटी थियो, जसका कारण मुखको स्वास्थ्यमा निकै सकारात्मक परिवर्तन देखिएको थियो । -डा. सुशील कोइराला, दन्त रोग विशेषज्ञ

पत्याउनुहुन्छ, जति ठूला र नाम चलेका स्कुल, त्यहाँका बालबालिकाका त्यति नै फोहोर दाँत ? लामो समयदेखि मुलुकमा दन्त स्वास्थ्य प्रक्रियामा सक्रिय रहेका वरिष्ठ दन्त रोग विशेषज्ञ डा. सुशील कोइरालाको अनुभव यस्तै छ ।

यसबारे खासै अध्ययन नभए पनि डा. कोइरालाले आफूलगायत विशेषज्ञहरूकहाँ उपचारका लागि आउने बालबालिकाको तथ्यांक विश्लेषण गरेपछि उपर्युक्त निष्कर्ष निकालेका हुन् ।


अझ जंकफुड, बिस्कुट, चक्लेट, कुकिज, कार्बोनेटेड ड्रिंक्सलगायत पश्चिमा खानपानपछि दाँतलाई राम्ररी नमाझ्ने अवस्थाले बालबालिकाका दाँतमा नराम्रो असर परिरहेको छ । केही दशकअघि अमेरिका लगायत विकसित मुलुकका बालबालिकामा देखिने जस्तै दाँतको समस्या अचेल हाम्रो मुलुकको सहरी क्षेत्रका बालबालिकामा पाइन थालेको छ ।

तर, विकसित मुलुकका बालबालिकामा दिनहुँ दुई पटक दाँत माझ्ने, यसको निरन्तर स्याहार गर्ने जस्ता असल बानी बसालिएका कारण त्यहाँ दन्त स्वास्थ्यको स्थिति निकै राम्रो भएको छ, हाम्रो मुलुकमा भने यो समस्या यथावतै छ । किन त ? स्कुलहरूमा पहिलेझैँ दिनहुँ बालबालिकाको दाँतको स्वच्छता–सम्बन्धी परीक्षण हुन छाडेर । कम्तीमा डा. कोइराला यही मान्छन् । उनी त हाल बालबालिका फोहोर र अल्छी रहेको समेत उनको ठम्याइ छ ।


‘राजधानीमा जति ठूलो र राम्रो नाम चलेको स्कुल छन्, त्यहाँका बालबालिकाको दाँत त्यतिकै फोहोर रहेको मेरो अनुभव छ,’ डा.कोइराला भन्छन्, ‘स्कुलमा पहिले एकदेखि पाँच कक्षासम्म शिक्षकले दिनहँु दाँत, नङ आदि हेर्ने चलन थियो । यसबाट मुखको स्वास्थ्यमा निकै सकारात्मक परिवर्तन देखिएको थियो ।’


अझ किशोरावस्थाका विद्यार्थीमा दन्त स्वास्थ्यसम्बन्धी समस्या बढी देखिएको छ । ‘बालबालिकाले दाँत नमाझ्ने, स्याहार नगर्नेजस्ता गुनासो बुवाआमाले नै सुनाउँछन्, स्कुलले नै दन्त स्वास्थ्यमा विशेष तदारुकता अपनाए यो समस्या केही हदसम्म कम हुन सक्छ,’ डा. कोइराला औंल्याउँछन् ।


बालबालिका त के, वयस्कहरूमा समेत दाँत माझ्ने उचित प्रक्रियालगायत मुख स्वच्छताको जानकारी अभाव देखिएको डा. प्रवीण मिश्र औंल्याउँछन् । हाल हाम्रो मुलुकमा बालबालिकाका दाँतमा कीरा लाग्ने समस्या सबैभन्दा बढी देखिएको उल्लेख गर्दै उनी भन्छन्, ‘दाँतमा कीरा लाग्नु (क्यारिज) को मुख्य कारण दाँत राम्ररी नमाझ्नु नै हो ।’


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो अनुमान अनुसार, विश्वव्यापी रूपमा ९० प्रतिशतजति स्कुले बालबालिकाका दाँतमा कीरा लाग्ने गरेको छ ।


बालबालिकामा दिनहुँ दुई पटक दाँत माझ्ने लगायतका मुख स्वच्छता सम्बन्धी बानी विकास गर्दा यसले मुलुकको मुखको स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन ल्याउँछ । बाल्यावस्थादेखि नै कम्तीमा दुईदेखि तीन मिनेटसम्म ब्रस गर्नुपर्ने बानीको विकास गर्नुपर्ने आंैल्याउँदै डा. मिश्र भन्छन्, ‘छ वर्षसम्मका बालबालिकालाई अभिभावकले आफ्नै निगरानीमा ब्रस गराउनुपर्छ ।’


बिहान र राति सुत्ने बेलामा दाँत माझ्नाले दाँतमा अड्किएको र गिजामा टाँसिएको खाद्य कण आदि बाहिर निस्किन्छन् । राति दाँत नमाझ्दा मुखमा रहेका अन्नकणहरू बिहानसम्म कुहिन्छन् र त्यसबाट एसिड बन्छ अनि त्यसले दाँतमा हानि पुर्‍याउँछ । डा. मिश्र बाल्यकालदेखि नै उपयुक्त रूपले नियमित दिनमा दुई पटक दाँत माझ्ने बानी परेकाहरूमा दाँतको समस्या अन्य व्यक्तिको दाँजोमा आधाभन्दा बढी हुन्न ।


खाना खाएको बीस मिनेटपछि नै ब्याक्टेरियाले खाद्यकण मुख्यत: गुलियो वा स्टार्च भएको वस्तुलाई अम्लमा परिवर्तन गर्छ । यो अम्लले मुखको र्‍यालसँग मिलेर प्लाक नामक टाँसिने पदार्थ बनाउँछ, जुन दाँतमा टाँसिन्छ ।


ब्रस नगर्दा दाँतमा टाँसिएको प्लाक कडा भएर टार्टरको निर्माण गर्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा पार्ने प्वाललाई नै क्याभिटी अर्थात् दाँतमा कीरा लाग्नु (क्यारिज) भन्ने गरिएको छ ।


बल लगाएर दाँत नमाझौँ
बल लगाएर दाँत माझ्दा बढी सफा हुन्छ भन्ने भ्रममा नरहनुस् । यसो गर्दा फाइदा कम नोक्सान बढी हुन्छ । बल लगाएर माझ्दा तपाईंको गिजाको तन्तु र दाँतको इनामेलमा नोक्सान पुग्छ ।


यति मात्र होइन, आवश्यकताभन्दा बढी समयसम्म दाँत माझ्नुसमेत फाइदाजनक हँुदैन । यसैले सधैं नरम ब्रसले दाँत र गिजामा सामान्य दबाब दिँदै दाँत माझ्ने गर्नुस् ।


केही खाएलगत्तै कुल्ला गरौँ 
हामीले मुख्य आहारबाहेक गुलियो, बिस्कुट आदि खाद्यपदार्थ खाएलगत्तै राम्ररी कुल्ला गर्‍यौँ भने दाँतको समस्या हतपती हुन पाउँदैन । पानीले कुल्ला गर्दा दाँतमा अडकिएर बसेका अन्नकणहरू सहजै बाहिर निस्किन्छन् र दाँत सफा हुन्छ ।


दतिवन पनि राम्रो 
हाम्रा गाउँघरतिर दतिवनले दाँत माझ्ने गरिन्छ । अझ त्यहाँ मौसम विशेषअनुसार नीम लगायतका विभिन्न वनस्पतिको हाँगालाई दतिवन बनाएर दाँत माझ्दा यसले मुख स्वास्थ्यमा विशेष फाइदा पुर्‍याउने मान्यतासमेत छ ।


दतिवन पनि दिनहँु दुईपटक गर्नुपर्ने आंैल्याउँदै डा. कोइराला भन्छन्, ‘अझ नुनमा दतिवन वा आंैला चोपेर दाँत माझ्दा निकै फाइदा हुन्छ ।’


कसरी ब्रस गर्ने ?

ब्रसमा पेस्ट लगाएर दाँत, गिजा एवं दाँतको मिलन स्थल इनामेलमा राखेर ब्रसलाई दाँतमा बिस्तारै तलमाथि, अगाडि–पछाडि, दायाँ–बायाँ ४५ डिग्रीको कोणमा घुमाउनुपर्छ । यही प्रक्रिया सबै दाँतका लागि अपनाउनुपर्छ । यस्तै, हरेक दाँतको भित्री सतहलाई समेत बिस्तारैबिस्तारै सफा गर्नुपर्छ । दाँतको चपाउने सतहमा ब्रसलाई राखेर अगाडि–पछाडि चलाउनुपर्छ ।


तालु र जिब्रोतिरको खण्डलाई सफा गर्न ब्रसको अगाडिको खण्ड उपयोग गर्नुपर्छ । ब्रस गरेपछि राम्ररी कुल्ला गर्नुपर्छ र गिजालाई हल्का मालिस गरेर पुन: राम्ररी कुल्ला गर्नुपर्छ । बिहानजस्तै रातिसमेत यसै प्रकारले नियमित ब्रस गर्ने प्रक्रिया दोहोर्‍याउनुपर्छ । दाँत सफा गरेपछि जिब्रोसमेत सफा गर्न बिर्सनु हुन्न । 

प्रतिकृया दिनुहोस

दशैँ आयो अब कस्तो मासु कसरी खाने त ?  

दसैँ र मासु एक–अर्कासँग परिपूरक मानिएका विषय हुन् । त्यसैले अधिकांशका घरमा दसैँका लागि मासु अनिवार्य परिकार बनाएको हुन्छ । दसैंका वेला घरमा अरू पनि

पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइयो । 

किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता भन्ने मुल नाराका साथ पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइएको छ । रामेछाप

खाना खाने गलत शैली, उमेर नपुग्दै बुढ्यौली

    जवाफ, ‘उमेरमै जवानी गुजि्रएला कि भन्ने कुराले ।’ अर्थात उमेर नपुग्दै पाको, बुढो भइएला भन्ने डर । तपाईंलाई पक्कै थाहा छ, उमेरले मात्र मान्छे