• ON AIRमिलिजुली नेपाली
  • UP NEXTबदलिदो नेपाल

‘सुन बूढी’, सत्ता र ‘गोल्डेन डन’हरु

 

-संजिव कार्की: सुनले देश गर्माएको छ यतिबेला । सुन तस्करको उपमा पाएको ‘गोल्डेन डन’ पक्राउ परेको छ ,त्यसको साथ साथै मन्त्री मन्त्राणीहरुको गोल्डेन इतिहास पनि सम्पत्ति विवरणको नाटकसंगै मन्चन भएको छ । ‘गोरे’ सुन तस्करीसँग जोडिएको छ ।

सुनले देश गर्माएको छ यतिबेला । सुन तस्करको उपमा पाएको ‘गोल्डेन डन’ पक्राउ परेको छ ,त्यसको साथ साथै मन्त्री मन्त्राणीहरुको गोल्डेन इतिहास पनि सम्पत्ति विवरणको नाटकसंगै मन्चन भएको छ । ‘गोरे’ सुन तस्करीसँग जोडिएको छ । अनुसन्धानको फराकिलो, चुनौतीपूर्ण तर पेचिलो दायरामा छ भने सत्तासीन कम्युनिस्ट पार्टी ओलीको टोली सुनमोह, द्रव्य मोह ,घरजग्गा मोह, शेयर मोह र समष्टिमा सम्पति मोहको मोहपासमा जेलिएको कपटी कथा बाहिर आएको छ । सर्वहारावर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताको सम्पति विवरण हेर्दा लाग्छ कुनै पूंजीवादी , सामन्तीहरुको सम्पतिको विवरण पढिरहेको छु । ब्यापारी धनाढ्यहरुको सम्पति बिवरण हेरिरहेको छु । दलालहरुको सम्पत्तिको फेहरिस्त नियालिरहेको छु । कम्युनिस्टहरू गरिब हुन्छन । गरिबहरुको पार्टी कम्युनिस्ट पार्टी हो भन्ने कथनको खण्डन गर्न कुनै पूंजीवादी पार्टीलाई अब धेरै प्रमाण र नारा अनि खुराकको आवश्यक नपर्ला शायद ।

आजको पत्रपत्रिकाको हेड लाइन, सार्वजनिक संचार माध्यम काफि छ, हुनुपर्छ । फेसबुक, ट्वीटर, इन्सट्रागाम जस्ता सामाजिक संजाल गरिव मन्त्रीका धनी श्रीमतीको सम्पति विवरणको चर्चा परिचर्चाले रंगिन छ ,भरिभराउ छ । अब प्रश्न उठ्छ के कम्युनिस्टहरू धनी हुन् मिल्दैन ? कम्युनिस्टले धन कमाउनु अपराध हो ? कि यो राज्यको संबिधान कानुनले कम्युनिस्टलाई सम्पति आर्जन र सम्पति कमाउन रोक लगाएको छ ? हाम्रो संविधानमा ब्यबस्था भएको सम्पति सम्बन्धि हकमा कम्युनिस्टहरुको लागि विभेदकारी नीति र प्राबधान पक्कै छैन होला । कम्युनिस्ट प्रधानमन्त्री, मन्त्रीको सम्पति विवरण देखेर किन देश औडाहा व्यक्त गरिरहेछ ? यी र यस्तै गैर कम्युनिस्टहरुको सन्देह र प्रश्न प्रति सामान्य विवेचना गरौ । चर्चा परिचर्चा गरौं । के धनी मान्छे कम्युनिस्ट हुन् पाउदैन ? पक्कै पाउछ, पाउनुपर्छ, धनीलाई कम्युनिस्ट बन्न रोक लगाउने कानुन छैन, हुदैन पनि । हामी किन कम्युनिस्टहरू धनी भए देखिए भनेर चिच्याएर बोल्दैछौ ? के कम्युनिस्टका जोइपोइ धनी हुनु पाप हो ? अधर्म हो ? यो पनि पक्कै होइन । कानुनत सम्पति आर्जन कहिंकतै बन्देज र रोकको बिषय होइन पनि । स्वावलम्बी हुनु हो, उद्धमशील हुनु हो कर्मशील हुनु हो तर स्वआर्जन बिनाको धन प्राप्ति, दाइजो भने अनैतिक हो । अनैतिकता व्यक्तिको मुल्यको कुरा भयो तर दाइजो कानुनतः अपराध हो, अधर्म हो ।

यसरी कानुन र न्यूनतम लाजको समेत धज्जी उडाउने गरी लाजलाई नै खाल्डोमा पुरेर किन द्रव्य मोहमा चुर्लुम्म छन् कम्युनिस्ट पार्टीका नेताहरु । कम्युनिस्ट आदर्श नैतिकता र सिद्दान्त कुन दुलो भित्र पस्यो ? किन स्खलित भयो मुल्य ,मान्यता सिद्दान्त र निष्ठाको राजनीति ? खडेरी परेको नैतिक धरातलमा बसेर कुन नैतिकताको कुरा गर्न सुहाउँछ ? नेता हुनु भनेको नैतिकता नहुनु हो । सिद्दान्त बेच्नु नीति र नियम कुल्चनु अनि आदर्श भुल्नु हो । हाम्रो जस्तो सामाजिक आर्थिक परिपाटीमा जोइ धनी पोइ हरितन्नम ? कस्तो असंगत आर्थिक ब्यबस्था ?

जनतालाई घरजग्गा, सुनचाँदीको लगानी अनुत्पादक क्षेत्रको लगानी भन्ने तर आफ्नो सम्पति चैं सबै त्यति देखिने कस्तो विरोधाभाष ? घर जग्गा र अनुत्पादक क्षेत्रमा लगाएको लगानीले आफू मात्र धनि हुनुभन्दा उद्योग, धन्दा कल कारखाना अनि अरु ब्यबसायमा लगानी गरेको भए केहि भए पनि रोजगारी वृद्दि त हुन्थ्यो । अनुत्पादक क्षेत्र भन्ने जान्दाजान्दै किन त्यता लगानी गर्नुभयो यो बाटो हिडेर तपाइले भन्नु भएको समाजबाद भेटिन्छ मन्त्री ज्यू ? कम्युनिस्टहरु आफ्नो हरेक भाषण, हरेक लेखोटमा दाइजो बिरोधी देखिन्छन तर कम्युनिस्ट पार्टीका मूल नेताहरु नै सबैभन्दा बढी दाइजो लिने दाइजोबादी देखिए यो ढोंग किन र के का लागि ? खुलेआम सम्पति कमाउनु जे छ त्यो देखाउनु बेठिक होइन तर एक थोक देखाउने अर्को थोक गर्ने चै छली हो धोका हो बेइमान हो । जड्याले जाँड खानु अनर्थ र अनौठो होइन देखिन्न तर साधुले जाँड छोए मात्र पनि अधर्म र अपराध हुन्छ मानिन्छ । समाजले असाध्यै सम्मान गरेको साधुले जाँड खाएको जस्तै देखियो चर्चित मन्त्री लालबाबु पण्डितको सम्पति विवरण ।

कम्युनिस्ट खेमाका भए पनि सबैभन्दा बढी वावा र स्याबासी पाउने मन्त्री हुन् लालबाबु पण्डित । सामान्य प्रशासन मन्त्री हुँदा उनले देखाएको कार्यकुशलता सधै तारिफयोग्य र छाती ठोकेर समर्थन गर्न लायक छ । सम्पतिवाल हुनु आफैंमा नराम्रो चै होइन तर जे छ त्यो देखाउनु पर्छ । सम्पतिवाल भएर पनि साइकल चढ्नु उनको सरलता र मितव्ययिता हो तर गरिवीको कारण साइकल चढेको भनियो भने त्यो कपट हो छद्मभेषी चाल हो । गैरकम्युनिस्टहरु पनि लालबाबुको ख्यातीको मिठो इर्श्या गर्थे लालबाबुको नाम आदर र इज्जत साथ लिन्थे । उनको सादगी निष्ठा र अडान देशभक्ति पूर्ण मान्थे तर यो पटक लालबाबुको सम्पति विवरण देखेर जिब्रो ननिकाल्ने मान्छे कमै छन् ।

मिथ्या र झुट भैदियोस यो पटकको सम्पति विवरण कम्तिमा लाल बाबु पण्डितको हकमा, प्रिन्ट मिस्टेक नै होस् उनको विवरण ता कि उनीप्रति गर्व गर्ने म जस्ता लाखौं नेपालीको मन नदुखोस । सम्पति आर्जन आफैंमा नराम्रो विषय होइन र हुन कदापी सक्दैन तर एकाएक कसरी त्यस्तो भयो देखियो त्यो अहं प्रश्न र सार्वजनिक सरोकारको विषय हो चासो र खोजको बिषय हो । मन्त्री र प्रधानमन्त्री जो पटके छन् हिजो र आजमा उनीहरुको सम्पति किन आकाश जमिनको फरक देखियो ? सम्पति आय आर्जन र व्यय अनि खर्चको तालमेल किन मिलेको देखिन्न ? राजनीति सेवा हो या पेशा ब्यबसाय ? राजनीतिलाई पेशा बनाउने अनि त्यसको आडमा सम्पति आर्जन गर्ने कुन कायदा हो ? धन सम्पति ,सुनचाँदी, गरगहना, जग्गा जमिन, नगद ,शेयर हिजो र आजमा भारी बृद्धि भएको देखिनु के को संकेत हो ? मन्त्री र नेता भए पछि रातारात कसरी थपिन्छ श्रीसम्पति ? जनताले सम्पति आर्जनलाई , सम्पतिको श्रोतलाई विश्वास गर्ने आधार के हो ? विश्वसनीय सम्पतिको श्रोत र आधार नदेखिदा त्यसलाई भ्रस्ट आचरण मार्फत बटुलिएको कालो द्रव्य भनेर बुझ्दा तपाईहरुमाथि आन्याय होला र ?

जनवादी विवाह गर्ने तर पूंजीवादी दाइजो स्वीकार गर्ने प्रधानमन्त्री देखि मंत्रीहरुसम्मको सम्पति के दाइजो मात्र हो ? पेवा दान दातव्यको हिस्सा मात्र हो ? भए भरको सम्पत्ति श्रीमतीको नाममा राख्ने अनि आफुलाई साधु देखाउन गरिब र सर्वहारा देखाउन, लेखाउन सम्पतिको नाममा कुकुर बिरालो , किताब र थोत्रो साइकल देखाउनु कुन नैतिक चेत हो मन्त्रीगण ? आय श्रोतको वैकल्पिक श्रोत अरु छैन तर मन्त्री प्रधानमन्त्री सांसद र नेता हुँदैमा कसरी सम्पति दिन दुगुना रात चौगुना हुन्छ जनता यसको सिधा उत्तर जान्न चाहन्छन । भर्खरै सम्पन्न चुनावमा चिया खाने र पानी खाने पैसा समेत नभएका र साइकल समेत थोत्रो चढेर हिड्ने लाल बाबु पण्डितको नगद ५५ लाख के जादुयी कमाई हो ? दोस्रोपटक मन्त्री हुदाँ र पहिलोपटक मन्त्री हुदाको सम्पति विवरण किन यति अपत्यारिलो आयो ? जनताले सम्मान गरेका विश्वास गरेका लाल बाबुको पत्यारिलो जबाफ जनता खोज्दैछन । सम्पत्तीमा सुन मोह पनि गजब कै हुदोरहेछ शारीरिक सुन्दरता भन्दा मानसिक सुन्दरताको खोजी गर्ने कम्युनिस्टहरू आफ्ना श्रीमतीहरु भने अरुभन्दा राम्री भएको हेर्न चाहने रहेछन जसको कारण सुन्दरताको लागि सुन जोड्न जोडबल गर्नेकुरा बुझ्न सकिन्छ । अहिलेका मन्त्रीहरुका ‘सुन बुढी’ रहेछन । अब जनताले भन्नु पर्ने भयो सुन बुढीका नकचरा पोइहरु ? सुशासनको भाषण दिनेहरु सुनको शासन चाहन्छन ।

सम्पति शुद्धिकरण आयोगले आफ्नो नजर तमाम पार्टी नेताहरु, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री, मन्त्री नेता र पद र पहुचमा बसेकाहरु प्रति पनि लाउने हो कि ? हामी जनताको सामान्य नजरले नै नेताहरुको सम्पतिको श्रोत र आधार पत्यारिलो मानेनौ भने यसको खोजि गर्ने निकायले निश्चयनै केहि त भेट्टाउन सक्छ । स्वभाविक र सामान्य घटबढ जनताको आँखालाई बिझ्दैन तर असमान्य आय अकस्मात आय र अस्वाभाविक आय भने कसैको नजरबाट छिप्दैन । हामी पारदर्शीता खोज्छौ, दाइजो पेवा या कोसेली नै भए पनि यसको पारदर्शिता आजको समयको माग हो । सार्वजनिक ओहोदामा बसेकाहरुबाट सुशासनको लागि आफ्नो सम्पतिको रहस्यमय उतार चढावको बारेमा जानकारी आवश्यक छ । सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रधानमन्त्री र मन्त्रीले आफ्नो सम्पति माथि उठेको प्रश्नको जबाफ सम्पति शुद्धिकरण आयोग, या अख्तियार अनुसन्धान आयोग मार्फत पुष्टी गर्नु अझ कुनै प्रमाणको अभाव भएको भए पेश गरि सार्वजनिक गर्न वान्छनीय होला ।

प्रधानमन्त्री केपी ओलीले दाइजो लिनु भुल भएको स्वीकारोक्ति सहित आफ्नो सम्पूर्ण सम्पति विवरण छानविन गर्न सार्वजनिक अपिल गर्ने अनि आफ्नो मन्त्री परिषदका सबै सदस्यको सम्पत्ति छानविनको लागि मार्ग प्रसस्त गर्ने अनि विपक्षी पार्टीलाई पनि आफूले जस्तै छानबिन गर्न चुनौती दिने र कानुनले बाध्य बनाउने हो भने सुशासन र भ्रस्टाचार मुक्त देश बनाउने सपनाको लागि सुखद प्रारम्भिक कदम मान्न सकिन्थ्यो जनताको विश्वास सरकार प्रति बढेर जान्थ्यो । कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकारको दुहाइले सार्थकताको एउटा नमुना योग्य अभ्यास गर्दथ्यो । पाउँथ्यो । अहिलेको सरकारलाई राम्रो काम गर्न छेक्ने रोक्ने र ब्यबधान राख्ने तागत कुनै पनि शक्तिले राख्ने अवस्था छैन यति शक्तिशाली सरकार छ जसले असल कर्म गर्न खोज्यो भने समर्थन र सहयोगको लागि देश नै सर्लक्क समर्थनमा आउँछ तथापि ढिला गर्नु अलमलमा पर्नु आवश्यक छैन । अन्यथा ३८ किलो सुन तस्करी गर्ने त्यो गोरे र सत्तामा बस्ने यी गोरेहरुको बीचमा फरक नै के रह्यो र ? अन्तर नै कति देखियो र ? पुरस्स्कृत गर्ने जनताले दण्डित गर्न नजानेका पनि हुदैनन् । समयको खेलो फड्को न हो समयलाई पर्खनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

समाजवाद उन्मुख बजेट !

पेशल आचार्य/ हात्तीका दुईथरी दाँत हुन्छन्– एउटा चपाउने र अर्को देखाउने । नेपाली समाजलाई यो पुरातन उखानले सपाटसँग विश्लेषण गर्न सक्छ ।   हात्तीका

मोदीको हतार हतारको भ्रमणः उपादेयता चाहिं के रह्यो ?

  भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको राजकीय भ्रमणमा बैशाख २८ मा आउनु भयो र २९ गते नै जानुभयो । पहिलो दिन जनकपुरमा

जय सिण्डिकेट !

  पेशल आचार्य/ यतिखेर नेपाल सबैखाले सिण्डिकेटको गहिरो जालोमा जेलिएको रहेछ । अहिलेसम्म सम्पन्न भएका २००७ सालको क्रान्ति, २०४६ को जनआन्दोलन, २०६२/०६३