header
ताजा खाबर :

आप्रवासी कामदार दिवस ः सुरक्षित बैदेशिक रोजगारको आवश्यकता

–जीवन श्रेष्ठ
jiban2035@gmail.com
संयुक्त राष्ट्रसंघको महासभाले आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धी सन् १९९० डिसेम्वर १८ मा पारित गरी सन् २००० को डिसेम्वर ४ मा संयुक्त राष्ट्र संघले आप्रवासी दिवसका रुपमा मनाउने निर्णय गरेदेखि महासन्धी पारित भएको दिन हरेक वर्षको डिसेम्वर १८ लाई विश्वमा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा उल्लासपूर्वक मनाउने गरिएको हो । नेपालमा भने यो दिवस सन् २००६ देखि मनाउन थालिएको हो । गत वर्ष झै यस वर्ष पनि सुरक्षित आप्रवासनको आवश्यकता ः हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ नेपाल सरकार, आप्रवासी कामदार, ट्रेड युनियन, गैरसरकारी संस्था, विभिन्न विकास साझेदार संस्था र बैदेशिक रोजगारसँग सम्बन्धित निजी व्यवसायी समेतको सहभागिता एवम् समन्वयमा डिसेम्वर १८ तारिख तदनुसार पौष ३ गते अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदैछ । 
 
आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धी, १९९० का अनुसार “आप्रवासी कामदार भन्नाले आफू नागरिक नरहेको राष्ट्रमा पारिश्रमिक  पाउने क्रियाकलापमा लगाईने, लागेको वा लगाईएको व्यक्तिलाई सम्झिनु पर्दछ” भनेर आप्रवासी कामदारको सम्बन्धमा स्पष्टरुपमा परिभाषा गरेको छ । हाल संसारभर करिव २३ करोड २० लाख मानिसहरु आप्रवासीको रुपमा रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आ.ब. २०५०÷०५१ देखि २०७१÷०७२ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीहरुको संख्या ४० लाख ९६ हजार ५१९ पुगिसकेको छ । यद्यपि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्याङ्क अद्यावधिक हुन सकेको छैन । यस बाहेक शिक्षा, व्यापार, व्यवसाय आदि कारणले विदेश जानेहरु, अलेखबद्ध कामदार तथा भारतमा रोजगारीका लागि गएका नेपालीहरुको संख्यालाई अभिलेख गर्न सकेमा यो संख्या निकै बढी देखिन आउनेछ । वि.सं. २०६८ को जनगणना अनुसार देश बाहिर रहेका नेपालीहरुको कूल संख्या १९ लाख १७ हजार ९०३ रहेको देखाइएको छ । जसमा १३ दशमलव ३ प्रतिशत महिला रहेको छ । नेपालको समग्र जनसंख्याको यति धेरै नागरिकहरु देश बाहिर हुनुले आप्रवासी कामदार दिवसको महत्व थप उजागर भएको छ ।
बैदेशिक रोजगारबाट प्राप्त हुने मुख्य फाइदा विप्रेषण, सीप र अनुभव हो । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार आ.ब. २०७१÷०७२ मा कूल ६१७ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो । यो रकम नेपालमा बैदेशिक मुद्रा आर्जनको पहिलो श्रोत हो । जसले बैदेशिक रोजगार आर्जनमा ५३ प्रतिशत भन्दा बढि योगदान दिएको छ । तेस्रो जीवन स्तर सर्भेक्षण २०११ का अनुसार नेपालका कूल घर परिवारमध्ये ५५ दशमलव ८ प्रतिशत परिवारले नियमित रुपमा विप्रेषण प्राप्त गरेको तथ्यांक प्रस्तुत गरेको छ । प्रत्येक पछिल्लो वर्ष कूल ग्राहस्थ उत्पादनमा विप्रेशनको योगदान बढ्दो रहेको छ । गत आ.व. मा कूल ग्राहस्थ उत्पादनमा विप्रेषणले २९ दशमलव १० प्रतिशत योगदान ओगट्न सफल भएको छ । कूल गार्हस्थ उत्पादनका दृष्टिले अत्यधिक विप्रेषण भित्र्याउने विश्वको ५ मुलुक मध्ये नेपाल एक हो । जसले द्वन्द्वका समयमा समेत देशलाई टाट पल्टिनबाट मात्र बचाएन, गरिवीको रेखामुनि रहेको जनसंख्या ४२ प्रतिशत बाट २५.५ प्रतिशतमा झर्नुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस वर्ष झन् गत बैशाखमा गएको विनासकारी भुकम्प र त्यसको लगत्तै लामो समय नाकाबन्दीको कारण देशको समग्र आर्थिक कारोबार ठप्प भएको अवस्थामा बैदेशिक रोजगारमा गएका व्यक्तिहरुले नेपालमा पठाएको विप्रेशन एक मात्र राष्ट्रिय आयको स्रोत बन्न पुगेको छ । आर्थिक वृद्धिको सूचकहरुलाई हेर्ने हो भने रेमिट्यान्स अहिले मात्र होइन अझ धेरै वर्ष पछिसम्म देशको अर्थतन्त्रमा महत्वपूर्ण पक्षका रुपमा रहने निश्चित छ । 
घरेलु कामदारका रुपमा गएका आप्रवासी कामदारहरु दैनिक उन्नाइस घण्टासम्म अत्यन्त न्युनतम ज्यालामा काम गरिरहेको अवस्था छ । उचित तलवको साटो हिंसा र शोषणको शिकार भएर फर्किनुपर्ने अवस्था आएका छन् । कफाला प्रणाली र सरिया कानुन अनुसार आफुले काम गर्ने घर वा कम्पनी छोडेर भाग्नु अपराध हुने भएकाले विभिन्न पिडाका कारण आफ्नो रोजगारदाता छोडेर भाग्नेहरु उल्टै झमेलामा फस्ने गरेका छन् । नेपाली कामदारहरुको चाप भएका देशहरुका दुतावासको कामदारका पक्षमा खेल्ने प्रभावकारी भुमिकाका सम्वन्धमा सधै प्रश्न उठ्ने गरेको छ । अरवी देशहरुमा गलत प्रकृयाबाट जाँदा, दलालहरुको ठगी तथा आप्रवासी श्रमिकले काम बैदेशिक रोजगार विभागका अनुसार सरदरमा प्रत्येक दिन नेपाली कामदारका तीन देखि चारवटा लाश नेपाल आउने गरेको तथ्यांक बाहिर आएको थियो । नेपाली कामदारको मृत्यु हुने कारणहरुमा सडक दुर्घटना, कार्यक्षेत्र दुर्घटना, आत्महत्या, हत्या, तातो मौसम जस्ता कारणहरु बढी रहेको छ । कतिपय कामदार दिनभर काम गरेपछि एसी खुल्ला गरेर सुतेपश्चात सुतेको सुतै हुने गरेका छन् । सोचेको जस्तो काम, सेवा सुविधा नपाउने, शोषण, हिंसामा पर्ने जस्ता कारणले विशेषगरी अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली कामदारहरुको आत्महत्याको दर पनि बढेको छ । नेपाल आउने लाशका अधिकांश पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नेचुरल डेथ लेखिएको हुन्छ तर त्यो नेचुरल डेभको अर्थ कसैले बुझ्न सकेको छैन । यि सबै समस्यालाई दृष्टिगत गर्दा जुन अवस्थामा विदेश गएको छ, त्यस्तै स्वस्थ्य अवस्थामा स्वदेश फर्किन पाउने हो कि हैन भन्ने प्रश्न गर्नु पर्ने अवस्था रहेको छ । आप्रवासी कामदारको सुरक्षा नै आजको आवश्यकता देखिएको छ ।
बैदेशिक रोजगारका सकारात्मक प्रभावका साथसाथै नकारात्कम असरहरु पनि प्रशष्त रहेका छन् । बैदेशिक रोजगारमा जाने बढ्दो क्रममा कतिपयः गाँउबस्तीहरु युवाविहीन भएका छन् । कर्मठ र उर्जाशील पाखुरीको अभावमा अपार सम्भावना भएका हाम्रा उर्वर जमीनहरु बाँझा बनेका छन् । नेपाल कृषि प्रधान देश भनिएता पनि देशले आद्यान्न आयातसमेत गर्नु परिरहेको तितो यथार्थ हाम्रो सामु जगजाहेर छ । बैदेशिक रोजगारमा गएका अधिकांश व्यक्तिहरुका परिवार बालबच्चाहरुको शिक्षाका लागि गाँउघर छोडेर राजधानी काठमाण्डौ वा जिल्ला सदरमुकाम केन्द्रित हँदा आन्तरिक बसाइँ सराईको क्रम पनि बढि रहेको छ । जसले गर्दा उनीहरुको परिश्रम, मितव्ययिता, आर्थिक उत्पादन र सञ्चितिमा ह्रास आईरहेको छ । संयुक्त रुपमा रहने बस्ने हाम्रो सांस्कृतिक मूल्य र मान्यतामा खलल् पुग्नुले सामाजिक मान्यता बदलिनुका साथै सामाजिक संरचना नै खलबलिन थालेको छ । श्रीमान वा श्रीमति बैदेशिक रोजगारका क्रममा लामो समय श्रीमान् श्रीमति साथमा नहरँदा तस्रो व्यक्तिसँग सम्बन्ध बढ्दै जाँदा पारिवारिक विखण्डन निम्तिन थालेको छ । आर्थिक उपार्जन गर्न बैदेशिक रोजगारमा जाने क्रमले परिवार र समाजमा विभिन्न खाले सामाजिक समस्याका कारण उच्च सामाजिक लागत व्यहोर्नु पर्ने परिस्थिति आउन थालेको छ । 
दिगो विकासको पूर्वाधार निर्माण गरी यहाँका युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर छैनन् भन्ने मनोभावनाबाट मुक्त गर्नु आजको प्रमुख चुनौति रहेको छ । यस चुनौतिसँग लड्न राज्यका केन्द्रिय निकाय, स्थानीय संयन्त्र र राजनैतिक पक्षको भूमिका महत्वपूर्ण रहने कुरा निर्विवाद छ । बैदेशिक रोजगारको लागि विदेश जानु अघि, विदेशमा रहँदाको समय र स्वदेश फर्किए पछिका सबै चरणहरुमा देखिएका समस्यहरुलाई सम्बोधन गर्दै बैदेशिक रोजगारलाई व्यवस्थित, उपलब्धिमुलक र सुरक्षित बनाउन जरुरी छ ।

Archive

View All

विचार/अन्तरबार्ता

View All

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका ...