header

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका छैनन् । आरोहण गर्नै नसकेर भने होइन, हिमाल चढ्ने बन्दोबस्तीका सामान भरियालाई बोकाएर हिमालको आधार शिवीरतिर लम्कने क्रममै बिलाए उनको हिमाल चढेर हिरो बन्ने चाहना ।  
कतै लडेमा सबैभन्दा पहिले टाउकोमा केही भएको छ कि भनेर जाँच गर्ने देशमा हुर्किएका उनले पनि साइकल चढ्दा समेत लडेर टाउकोमा चोटपटक लाग्ने डरले हेल्मेट लगाएर चलाएका थिए । तर नेपालमा आएपछि त्यही टाउकोले क्वीन्टलको भार थामेको देखे, आफू रित्तो झोला बोकेर पनि उकालो उक्लिन नसकिरहेका बेला मुरीको भारी बोकेर आफ्नो सेवामा खटिरहेका भरियालाई नियाले, अनि हिमाल चढेर नाम कमाउनु भन्दा भरियासँगै भारी बोक्ने मनस्थितिमा पुगे । 
हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालको डाँडाकाँडासँग मित लगाउँदै भरियाहरुसँगै भारी बोकेर उनीहरुकै उत्थानका लागि क्रियाशील ‘बेन एयर्स’ को वास्तविकता हो यो । अहिले जि फाउण्डेशन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नेपाल निर्देशक रहेका बेनको नेपाल प्रेम अतुलनीय छ । 
 
बसन्तपुर–चैनपूर भारी बोक्दा 
 
हिमाल चढ्ने धोको त्यागेर भरियाको जिन्दगी अध्ययन गर्न लागेका बेनले भरियाको जिन्दगी हेरेर मात्र बुझ्न सकिन्न भन्ने निष्कर्ष निकाले र उनीहरुसँगै भारी बोक्ने निधो गरे । सुरुसुरुमा काठमाडौ उपत्यकाको वरिपरि सानातिना भारी बोकेर थाप्लोलाई बानी बनाउन थालेका उनले कास्कीको घान्द्रुक जाँदा आफ्नो सामान आफैंले बोके । अलि अलि बानी हुँदै गएपछि भरियाले जस्तै संखुवासभाको बसन्तपुर–चैनपुर ज्यालादारीमा भारी बोक्न थाले । ‘४० किलो चामल बोक्थें त्यो पनि भरिया दाइहरुले मलाई दिन मान्दैनथे’ त्यसपछि जिन्दगीको वास्तविकता मैले थाहा पाउन थालें । ती भरियाहरुले टाउकोको भरमा १ सय २० किलोसम्म बोक्दोरहेछ, यो रमाइलोका लागि थिएन, जीवन चलाउनका लागि थियो ।’ विगत सम्झिँदै बेनले भने । 
 
‘भारी बोक्नेहरुको जिन्दगी अति नै दुःखदायी हुँदो हो, यिनीहरु कहिल्यै हाँस्दैनन् किनकी उनीहरुको खुशी भारीले थिचिएको हुन्छ’ तोक्मा टेक्दै भारी बोकेर एकोहोरो हिँडिरहनेहरु देखेर बेनले यस्तै सोचेका थिए । तर जब भारी बोकेर उनीहरुसँगै हिड्न थाले त्यसपछि बेनले थाहा पाए ‘उनीहरु पनि हाँस्दारहेछन्, घरपरिवार चलाउने योजना बनाउँदा रहेछन्, परिवारको सुखद भविष्यका लागि आफू भन्दा दोब्बर तौलको भारी बोक्न तत्पर हुँदारहेछन् ।’ 
भरियाभित्रको यीनै सम्भावनालाई पहिल्याएर उनले सन् २००४ तिरै भरिया विकास नेपाल भन्ने संस्था खोले । भरिया विकास नेपालका सबै सदस्य भरियालाई नै बनाए । यसको उद्देश्य हिमाल आरोहीहरुको भारी बोकेर जाने भरियाको जीवन रक्षा गर्नु थियो ।
 
यसका लागि केही पैसा डिपोजिट गर्न लगाइ हिमालमा जाँदा तातो लुगा र जुत्ताको व्यवस्था गर्थ्यो, फर्किने बेला धोएर दिएपछि डिपोजिट फिर्ता हुन्थ्यो । त्यसबेलासम्म हिमाली भेगमा जाने पर्यटन मजदुर खाली खुट्टा हिँड्न बाध्य थिए, हिउँले शरीरका अंगहरु खाएर काटेर फ्याँक्नुपर्ने अवस्था थियो । लेक लागेर वर्षेनी ज्यान जाने गथ्र्यो, तर यसको समाधानको उपाय कसैसँग पनि थिएन । 
त्यत्तिबेला भरिया विकास नेपालको एक वर्षको बजेट एक लाख मात्र थियो तैपनि त्यो सिर्जनात्मक कामले भरियाहरुले हिमालमा जाँदा कपडाकै अभावमा मर्नुपर्ने अवस्थाको अन्त्य भएको थियो । देशमा द्वन्द्व चर्किंदो थियो, अमेरिकन नागरिकले नेपालमा बसेर सेवा गर्ने वातावरण थिएन, त्यसपछि सन् २००७ तिर भरिया विकास नेपाल बन्द गरेर उनी अमेरिका नै फर्किए । 
.................................
नेपालको हावापानीमा बाँच्ने बानी परिसकेका बेनलाई अमेरिकाको बसाई दिक्क लाग्न थाल्यो । उनलाई सधैं नेपालको हावापानी, मिलनसार दाजुभाइ, दिदीबहिनी, दुःख लुकाएर पनि सधैं हाँसिरहने मुहारले बोलाइरहे झैं लाग्थ्यो । बेन भन्छन् ‘मलाई अमेरिकामा पनि अलि बल पर्ने काम नै गर्न मन लाग्थ्यो, ल्यापटप चलाएर बस्नै मन लागेन, अनि अमेरिकामा पनि रुख काट्न थाले, गाई दुहुन थालें त्यहाँबाट कमाएको पैसा म नेपाल आउने भिसा र खान बस्नका लागि खर्च गर्थें, जिन्दगीमा संघर्ष गर्न, म पनि केही गर्न सक्छु भन्ने आँट मलाई भरिया दाइहरुले नै दिएका हुन् उहाँहरु मेरो भगवान हो ।’ 
...............................
भरिया विकास नेपाल बन्द भएपनि उनको नेपाल आउने जाने क्रम चलिरहन्थ्यो ।  नेपाल आउनुअघि जर्मनीमा एक हप्ताको भ्रमण गरेका बेनका लागि नेपाल दोस्रो देश थियो । नेपालले उनलाई यस्तो मोहनी लगाइदियो कि जहाँबाट उनी फुत्किनै सकेनन् । ‘नेपालमै यसरी बस्छन् भन्ने थाहा पाएको भए मलाई घरबाट निस्कनै दिँदैनथे होला रु’ बेन भन्छन् ।
अमेरिकन नागरिक बेन नेपालमा लामो समय बस्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । ‘नेपालमा आएपछि १८ वर्षको अवधिमा धेरै देशहरु घुमें तर नेपाल जस्तो सुन्दर देश र नेपालीहरु जस्तो संस्कृतिका धनी विश्वमा पाउन सकेन ।’ यही बिचमा उनले नेपाली भाषा पनि सिके, ६ महिना नेपाली भाषा सिकेका बेनलाई अहिले सितीमिती कसैले ढाँट्न सक्दैनन् । 
......................
 
..नेपाली उखान नै छ ‘तिमी चिताउ, म पुर्‍याउँछु’ बेनलाई पनि यस्तै भयो । भरिया विकास नेपाललाई आर्थिक सहयोग गर्दै आएको जि फाउण्डेशनले नेपालमै कार्यालय खोलेर काम गर्ने प्रस्ताव आयो । बेनले पनि भरिया विकास नेपालले गर्दै आएको पुराना कामलाई निरन्तरता दिने र आफ्नै तरिकाले काम गर्न दिने भए काम गर्ने बताए ।
त्यसपछि उनी जी फाउण्डेशनको नेपाल डाइरेक्टर भएर आए । जी फाउण्डेशनले अहिले पनि सोलुखुम्बु र खोटाङको विकट बस्तीहरुमा सामुदायिक विकास र आयआर्जनको काम गरिरहेको छ । संस्थाले गरेका कामहरुबाट प्रफुल्ल भएका नागरिकले बेनलाई गलाभरि फूलमाला पहिराउँछन्, त्यतिबेला उनी अमेरिकी राष्ट्रपतिले पाउने नागरिक अभिनन्दन सम्झन्छन् । बेन भन्छन् ‘अमेरिकाको राष्ट्रपतिले यतिका सम्मान पाउनै सक्दैनन्, गाउँमा पुग्दा नेपालीले आँखा छोप्ने गरी फूलमाला लाइदिन्छन् नेपालीको स्वागत अलि धेरै नै भयो भन्ने लाग्छ, ती फूलको हरेक गुच्छाले मलाई ऋणी बनाइरहेको हुन्छ अनि म कसरी सेवा गर्न सक्छु भनेर खटिरहेको हुन्छु ।’ 
‘म भाग्यमानी छु, मैले जस्तो अनुभव अरु अमेरिकी नागरिकले हासिल गर्न पाउँदैनन् । मेरो श्रीमती, छोराछोरी नभए पनि नेपालमा मेरो सयौं परिवार छन् । जहाँ जतिबेला पुगेपनि मलाई बास दिन्छन् । नेपालको डाँडाकाँडा म भित्र छ, संसारमा नेपाल जस्तो राम्रो देश अहिलेसम्म भेटेको छैन । मैले यहाँ बस्ने अधिकार पाउन्जेल बसिरहन्छु । म यो देशको पाहुना हुन पाएकोमा गौरवान्वित छु’ बेनले भने ।
उज्यालो

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...