header

सामाजिक लोकतन्त्रको अनिवार्यता

ईतिहासमा केहि यस्ता मोडहरु आउँछन् जसमा सहि निर्णय लिन सकियो भने त्यसले अत्यन्तै सहि र सकारात्मक परिणाम दिन्छ । यदि गलत निर्णय लिएमा त्यसले जुगौजुगसम्म नकारात्मक परिणाम दिन्छ र डरलाग्दो भविष्यलाई निम्त्याउँदछ । सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेसँगै सुरु भएको पाकिस्तानी इस्लामिक कट्टरपन्थीकरणले पाकिस्तानको आजको दुर्दिन निम्त्याउने त्यस्तै घुम्ती थियो । करिब ७० वर्ष अगाडीको सोहि कट्टरपन्थी सोच तथा सिद्धान्तले पाकिस्तानलाई आजको दिनसम्म दलदलमा फसाईरहेको छ । उता कट्टर कम्युनिष्ट चीनले सन् १९७० को दशकमा लिएको आर्थिक सुधारवादी बाटोले आज विश्वको पहिलो अर्थतन्त्र बन्ने महत्वकांक्षा व्यवहारमा परिवर्तन हुदै गएको छ । भारतले सन् १९८० को दशकको अन्त्यमा लिएको उदार नीतिले भारत आज विश्वमा एक विशिष्ट हैसियत बनाउदै गएको छ । 
ईतिहासको वेग, प्रवाह र चाहनालाई सहि रुपमा बुझेर अगाडी बढ्न सके त्यसले सकारात्मक परिणाम दिने र यदि गलत निर्णय भएमा त्यसले वर्षौवर्षसम्म असर पारिरहने हुन्छ । नेपाल पनि यतिखेर यस्तै महत्वपूर्ण दोवाटोमा उभिएको छ । संविधानसभा मार्फत संविधान लेख्ने काम चलिरहेको छ । यस बेलामा सहि र ठोस निर्णय लिन सकेमा नेपालले हाम्रै पालामा समृद्धी र समतामुलक विकाश गर्न सक्नेछ भने यदि गलत निर्णय लिएमा त्यसले जुगौजुग सम्म पनि आन्तरीक गृहयुद्धमा धकेल्न सक्छ । इतिहासको पुर्ननिर्माणको यस संवेदनशिल घडीमा तर्क र वितर्क, सहमती र असहमती अनि वहस र विमर्श चलिरहेका छन् । संविधान निर्माणको क्रममा चलिरहेका बहस र छलफलले बहुमत र अल्पमतको अंकगणितमा समाधान खोज्यो र संविधान निर्माणको आधारभुत विषयमा सहमती कायम गर्न सकेन भने नेपालमा दिगो संकटको विजारोपण हनसक्छ । यसर्थ संविधान निर्माणको जटिल तर आवश्यक यात्राका यात्रीहरुले सामाजिक लोकतन्त्रमा सहमती कायम गर्नसकेमा त्यसले यात्रालाई सहज र सरल बनाउँछ भने माघ ८ को समयसिमालाई नाघ्न दिदैन । 
नेपालको सन्दर्भमा सामाजिक लोकतन्त्र यस्तो उपयुक्त शासन पद्धती हो जसले यहाँ रहेका विभिन्न असमानता, विभेद र असमञ्जस्यताको निराकरण गर्नको लागि महत्वपूर्ण सहयोग गर्न सक्दछ । यसका केहि खास कारणहरु छन् । पहिलो कुरा त सामाजिक लोकतन्त्रले पूँजी, श्रम, समानता, विकास र असहमतीलाई एउटै संरचनामा बाधेको हुन्छ । सामाजिक लोकतन्त्रले कुनै पनि विषयको पक्ष वा विपक्षमा निरन्तर र एकोहोरो रुपमा अडान लिदैन । यसले कुनैपनि सवाललाई निरपेक्ष रुपमा नभई सापेक्ष रुपमा हेर्ने र व्याख्या विश्लेषण गर्दछ । यसले राज्यको अधिकतम विकास र समानता निर्माणको लागि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक स्रोत तथा साधन जुटाउन प्रयास गर्दछ । साथै सामाजिक लोकतन्त्रले आफ्नो वैधानिकता र कानुनलाई भेदभाव विना र छिटोछरितो रुपमा प्रयोग गर्ने हुनाले राज्य थप स्वायत्त र सुदृढ बन्दछ ।  
दोस्रो, सामाजिक लोकतन्त्रिक व्यवस्थाले सधैभरी सक्रिय, प्रभावकारी र चेतनशिल नागरिकको निर्माणमा आफुलाई सक्रिय राख्दछ । यसले विना भेदभाव, भय र त्रासदी आफ्नो मत दिने स्वतन्त्रता र अधिकारलाई सुरक्षित राख्दछ । जसले त्रासदीरहित, भेदभाव विनाको स्वतन्त्रतालाई आत्मसाथ गर्ने लोकतन्त्रको आधारभुमीलाई थप बलियो बनाउँदछ । हरेक शासन व्यवस्थामा श्रमको सहि मुल्यांकन हुन सकिरहेको छैन । तेस्रो भनेको श्रमलाई सम्मान गर्नबाट धेरैजसो शासन व्यवस्था चुक्दै गएका छन् । तर सामाजिक लोकतन्त्रले श्रमको उच्च सम्मान र मूल्यांकन गर्दछ । सामाजिक लोकतन्त्रमा सम्मानपूर्ण श्रमको न्युनतम स्तर निर्धारण गर्न र त्यसको सहि मूल्यांकन गर्न सहयोग गर्दछ । अर्को महत्वपूर्ण पक्ष भनेको यस शासन व्यवस्थामा अहिले प्रचलनमा रहेका न्युनतम ज्याला, काम अनुसारको माम जस्ता सामान्य व्यवस्थाहरुलाई उछिनेर अगाडी जान्छ । यसले त मानिसलाई केवल श्रमिक वा कामदारको रुपमा मात्र बुझ्ने उग्र पुँजीवादी सोच, व्यवहार र दृष्टिकोणभन्दा माथि उठेर एउटा मानवको रुपमा बुझ्ने, व्यवहार गर्ने र सम्बन्ध बढाउने प्रयास गर्दछ । यसले पहिला मानवको रुपमा नागरिकलाई स्विकार गर्दछ । त्यस्तो मानवलाई जीवनभर बाँच्नका लागि र उसँगका आश्रितको भरणपोषण र सहयोग गर्नको लागि चाहिने निश्चित स्रोत र साधनको व्यवस्था गर्नको लागि आजिवन क्षमता अभिवृद्धि र कल्याणको संवैधानिक व्यवस्था गर्दछ । यसको लागि आवश्यक पर्ने स्रोतको वित्तिय व्यवस्था गर्नको लागि रोजगारदाता र श्रमिककै आम्दानीमा प्रगतिशिल कर लगाउँदछ । त्यहि करको आधारमा सामाजिक कल्याणका काम गर्दछ । एउटा महत्वपूर्ण पक्ष भनेको के हो भने यस व्यवस्थामा कामदार र श्रमिकले मालिकबाट ज्याला मात्र प्राप्त गर्दैनन् बरु राज्यतहबाट कल्याणकारी सहयोग पनि प्राप्त गर्ने हैसियत राख्दछन् । व्यक्तिहरु कामदार, मजदुर, श्रमिकको दर्जाबाट माथि उठ्छन् अर्थात मानवको रुपमा हेरिन थाल्दछन् । 
चौथो, नेपाल अहिले वंशानुगत विशेष अधिकारहरुको भुमरीमा रुमल्लिरहेको छ । जातिका आधारमा, लिंगका आधारमा धर्मका आधारमा, छालाको रंगका, क्षेत्रका आधारमा आदि । समस्याको हलो यहिनेर आएर अड्एिको छ । हाम्रा राजनीतिक दल तथा तिनका नेताहरु हलो अड्काउने तत्वलाई खोजी गरि त्यसको निराकरण गर्ने तर्फ नभई गोरु चुट्ने प्रवृत्ति देखाईरहेका छन् । यस्ता स्वतः प्राप्त हुने वंशानुगत विशेष अधिकारलाई जरैदेखि हटाउन पनि सामाजिक लोकतन्त्रनै उत्तम विधि हो । यसले निजी सम्पत्ति र लगानीको सुनिश्चितता त गर्दछ तर त्यसमा उपयुक्त र न्यायपूर्ण रुपमा कर लगाउँदछ । यसबाहेकका हरेक किसिमका विशेष अधिकार, असमानता, भेदभावलाई भने अन्त्य गर्ने काम गर्दछ । यसले अहिले भनिएजस्तै समाजका हरेक तह र तप्कामा सप्तरंगी चरित्रलाई बढाउनको लागि वकालत गर्दछ । समावेशीतालाई भित्रै देखि आत्मसाथ गर्दछ । असमानता र विभेदलाई अस्विकार गर्दै समतामुलक समाजको निर्माणको लागि आफ्नो बलियो उपस्थिती देखाउँदछ । 
अन्त्यमा, जतिसुकै लामा लामा महाकाव्य लेखेपनि वा जति ठुलो स्वरमा भाषण गरेपनि नेपालको अहिलेको खास समस्या भनेको शिक्षा, स्वास्थ्यको अवस्थामा सुधार्नु र स्रोतहरुको पूर्नवितरण गर्नु नै हो । पुँजीवादको नांगो उपस्थितिले गर्दा शिक्षाले असमनताको पर्खाललाई सगरमाथा भन्दा अग्लो बनाउँदै लग्यो । स्वास्थ्य माथिको पहुँच त झन कुरै नगरौ उच्च तहकाहरु रुघाखोकीको उपचार गर्न विदेश पुग्छन् भने दुर्गम गाउँका नागरिक जीवनजलको अभावमा मरिरहेका छन् । अहिलेको उग्र पुजीवादले स्रोतलाई सिनित्त सोहोरेर सिमित व्यक्ति तथा व्यापारिक घरानाको हातमा पुर्याईदिएको छ । केहि नेपाली फोव्र्सको धनीहरुको सुँचीको टप सय भित्र पर्दा पनि औषत नेपालीको घरमा दिनमा एकपटक पनि अगेनो बल्न गाह्रो छ । मुख्य समस्या यहिनेर छ । तर अर्को सत्यता र यथार्थता के पनि हो भने यतिखेर पुँजीवादको विरोध गरेर वा यसलाई पूर्ण रुपमा अस्विकार गरेर पनि जीवन चल्दैन । त्यो हावा महल जस्तै हुन्छ । गफ गर्न काम लाग्छ व्यवहारमा लागू गर्न सकिन्न । यस्तो अवस्थामा सामाजिक लोकतन्त्र यस्तो अचुक औषधी हो जसले पुँजीवादलाईनै सरल र श्रमिक मैत्री बनाएर हाम्रो जस्तो समाजमा त्यसको महत्वलाई झल्काउन सक्दछ । यसले स्रोतहरुको पुर्नवितरण गरि शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा लगानीलाई बढाएर लैजान्छ । जसले क्षमता, सीप र सिर्जनशिलता सहितका मानव उत्पादन गर्दछ न कि मजदुर र श्रमिक । 
यसर्थ, नेपालको लागि सामाजिक लोकतन्त्र उन्नती र समतामुलक समाजको लक्ष्यमा पुग्ने सरल र उपयुक्त बाटो हो । विबादको बीचमा सहमती खोज्ने प्रभावकारी व्यवस्था हो । असमानता र विभेद अन्त्य गर्ने एक प्रभावकारी पद्दती हो । मजदुर, श्रमिक र कामदारलाई मानवमा रुपान्तरण गर्ने औजार हो । असहमतीको बीचबाट सहमती निर्माण गर्नसक्ने एक मायावी विचार हो । यस विचारलाई सबैपक्षले भित्रै देखि आत्मसाथ गर्ने हो भने मानवियता सहितको सम्पन्नता, समृद्धि र समतामूलक समावेशी समाज हाम्रै जीवनकालमा आउँनेछ ।   
 
 

 

Archive

View All

विचार/अन्तरबार्ता

View All

जाडोमा कसरी जोगिने ?

जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो ...

नेपाली समाजको वास्तविकता आज सम्म

नेपाली समाजले आज सम्म वास्तविकतामा मान्छेले मान्छेलाई सुईकार नगरेको अवस्था हो । १)लोकतन्त्रमा हरेक मान्छेले ...